युक्रेनको मारिऊपोल सहरमा रुसले बढायो आक्रमण

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं (बीबीसी) । रुसी फौजले मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा एउटा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डरले आफूहरूले दोस्रो दिन पनि कठिन रक्तपातपूर्ण लडाइँ गरिरहेको बताएका छन्। निरन्तरको हमलापछि रुसी फौज उद्योग क्षेत्र प्रवेश गरेको विवरण आएका छन्। बालबालिकासहित करिब २०० सर्वसाधारण उक्त उद्योगभित्र आश्रय लिएर बसिरहेको ठानिएको छ।

स्टिल उद्योगमा रुसले हमला गरेको भन्ने विवरणहरूको बीबीसीले पुष्टि गर्न सकेको छैन। कमान्डर डेनिस प्रोकोपेन्कोले टेलिग्राममा एउटा संक्षिप्त भिडिओ राख्दै लेखेका छन्, ‘शत्रुको दबाब नियन्त्रणमा राख्न मेरा सेनाले मानवले गर्न सक्ने भन्दा ठूलो प्रयास गरिरहेको प्रति म गर्व गर्छु, यहाँको अवस्था निकै कठिन छ।’ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसङ्घलाई थप अपिल गरेका छन्।

‘हाम्रा लागि सबै महत्त्वपूर्ण छन्। तिनीहरूलाई जोगाउन हामी तपाईँसँग मद्दत माग्छौँ, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरससँग फोनमा कुरा गर्दै जेलेन्स्कीले भने। युक्रेनी नेताले यसै साता मानिसहरूको उद्धार गरी सफलतापूर्वक अन्यत्र लगेकोमा संयुक्त राष्ट्रसङ्घ र रेडक्रसलाई धन्यवाद दिए। यो साताको सुरुमा १०० भन्दा बढी मानिसको उद्धार गरिएको थियो।