युक्रेनको राजधानी किएभमा रुसले ‘पूर्ण क्षमता’मा आक्रमण गर्ने

Efrem Lukatsky–AP

काठमाडौं । रुसको सेनाले युक्रेनीको राजधानी किएभमा पूर्ण क्षमतामा आक्रमण गर्ने तयारी गरेको खुलासा भएको छ । युक्रेनका रक्षा अधिकारीहरुले रुसले पूर्ण क्षमतामा राजधानी किएभ माथि आक्रमण गर्ने तयारी गरिरहेको जानकारी पाएको खुलासा गरेका हुन् । पछिल्लो समय रुसी सेना केही थकित देखिएजस्तो भान परे पनि रुस ठूलो आक्रमणको तयारीमा रहेको बताइएको छ ।

युक्रेनको सेनाले दिएको पछिल्लो जानकारी अनुसार मस्कोका बलले आक्रमणका लागि आवश्यक सामाग्रीहरू जम्मा गरिरहेको छ । त्यसको तयारी स्वरूप किएभ नजिकै रहेको ईर्पीन शहरमा बख्तरबन्दसहित अन्य हातहतियार बोकेका गाडीहरू अघि बढिरहेको बीबीसीले लेखेको छ । सेनाले दिएको सूचना अनुसार रुसी कमान्डरहरूले अघि बढ्ने क्रममा रहेका आफ्ना सेनालाई बेलारुसबाट ल्याइएको तेल उपलब्ध गराइरहेका छन्।