युक्रेनबाट २५ लाख मानिस विस्थापित, थप तीन शहरमा रुसको आक्रमण

काठमाडौं । रुस युक्रेन युद्धका कारण युक्रेनबाट विस्थापित हुनेको संख्या २५ लाख नाघेको छ । संयुक्त राष्ट्रसङ्घका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले यस्तो जानकारी गराएका हुन् । बीबीसीका अनुसार तीमध्ये झण्डै १,१६,००० तेस्रो देशका नागरिक हुन् । समाचार संस्था एएफपीका अनुसार झण्डै २० लाख मानिसहरू युक्रेन भित्रै विस्थापित बनेका छन् । रुसले युक्रेनेका लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको छ ।

शुक्रवार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको विवरणहरू आएका छन्। युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर(पश्चिममा रहेको लुट्स र मध्य(पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएको बताएका छन्। लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन्। उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन्।

नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ। नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ। रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानोफ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएका छन्।