काठमाडौं । युक्रेनबाट ३०३ जना नेपाली सुरक्षित स्थानमा सरेका छन् । बाहिरिने क्रममा केही नेपाली अलपत्र परेका खबर आएकाले उनीहरुलाई जर्मनीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । रुसले युक्रेनको राजधानी किभसहित पूर्वी क्षेत्रमा आक्रमण बढाएपछि त्यस क्षेत्रमा रहेका नेपाली सुरक्षित ठाउँको खोजीमा छन् ।
हिजो बेलुकासम्ममा ३०३ जनाले युक्रेन छोडेको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युक्रेन छोड्नेको संख्या यो भन्दा केही बढी हुन सक्ने सम्भावना रहे पनि औपचारिक जानकारी आइसकेको छैन । युक्रेनबाट सबैभन्दा धेरै पोल्याण्डमा गएका छन् । अहिलेसम्म दुई सय ३२ नेपाली पोल्याण्ड पुगिसकेका छन् । ३९ जना स्लोभाकिया, ९ जना हंगेरी र २३ जना रोमानिया पुगिसकेका छन् ।