युक्रेनमा रुसले आक्रमण गरे रुसको ग्यास पाइपलाइन अवरुद्ध गराइदिने अमेरिकाको चेतावनी

Photo : ABC NEWS

काठमाडौं । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गरे उसको पश्चिम युरोप जोड्ने प्रमुख ग्यास पाइपलाइन अवरुद्ध बनाइदिने चेतावनी दिएको छ । नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो।

बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।बिबिसिका अनुसार पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गरेको समेत समाचारमा उल्लेख छ ।
रुसले आफूले हमला गर्ने योजना बनाएको अस्वीकार गर्दै आएको छ। यद्यपि उसले युक्रेनको सीमामा दशौँ हजार रुसी फौज हालैका हप्तामा खटाएको छ ।

अमेरिकी प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भने, “म एकदमै प्रस्ट भन्न चाहन्छु; यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन।” तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरे।

विदेशमन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए। अमेरिकाले उक्त पाइपलाइनलाई सञ्चालन हुनै नदिने बताए पनि जर्मनीले उक्त परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने अवस्थालाई नकारेको छैन।

संसद्‌मा बोल्दै जर्मन विदेशमन्त्री एनालेना बेअरबोकलेले नोर्ड स्ट्रिम टु सहित समेटिएका कडा प्रतिबन्धहरूका बारेमा पश्चिमा देशहरूले काम गरिरहेको बताइन्। अमेरिकाका लागि जर्मनीकी राजदूत एमिली हेबरले रुसले युक्रेनको सार्वभौमसत्तामाथि हस्तक्षेप गरे नर्ड स्ट्रम टु सहित कुनै पनि विषयमा वार्ता नहुने यसअघि ट्विटरबाट बताएकी थिइन्