युक्रेनमा संकटकाल घोषणा

काठमाडौं । रुसी सेनाले हमलाको निर्देशन प्राप्त गरेसँगै युक्रेनमा संकटकाल घोषणा गरिएको छ । संयुक्त राष्ट्रसंघले यहाँ रुसी आक्रमण भएमा कम्तिमा ५० हजार मानिस मारिने चेतावनी यसअघि नै दिइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा “सैन्य कारबाही”को घोषणा गरेसँगै यहाँ संकटकाल घोषणा गरिएको हो ।

पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आक्रमणले युरोपेली महाद्वीपमा “ठूलो युद्धको सुरुवात हुनसक्ने” चेतावनी दिएका छन् । उनले राती ढिलो गरी देशवासीलाई सम्बोधन गर्दै यदि रुसले हमला गरे “हामी आफ्नो रक्षा आफैँ गर्छौँ” भन्ने वाचा समेत गरेका छन् ।

उनका अनुसार युक्रेनको स्थानीय समय अनुसार बिहीवार राती १० बजेदेखि एक महिना लामो संकटकालीन अवस्थामा प्रवेश गर्दैछ। पश्चिमा मुलुकहरुको आंशकालाई सहि सावित गर्दै रुसले युक्रेनमाथि सैन्य हमला गर्न लागेको हो ।