युक्रेनमा सैन्य हमला नगर्न रुसलाई बेलायतको चेतावनी

File Photo : AFP\TET

लण्डन । बेलायतले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिएको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले रुसले युक्रेनमाथि हमला गरे उसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएकी हुन् । बीबीसीका अनुसार यो साता लिभरपूलमा हुने जी-सेभेन राष्ट्रका विदेशमन्त्रीको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम चालेमा रणनीतिक गल्ती हुने उक्त बैठकबाट स्पष्ट पारिने बताएकी छन् । ट्रसले यूके र उसका साझेदारहरूले युक्रेनमा रुसी हमला रोक्नु पर्ने बताइरहेका छन् ।


युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू एकत्रित गरेको छ । यसले तनाव बढेको हो । रुसले भने युक्रेन कब्जाको कुनै योजना नरहेको बताएको छ । अमेरिका र उसका साझेदार देशहरूको पहिलेकै चेतावनी दोहोर्‍याउँदै ब्रिटिश विदेशमन्त्रीले जी-सेभेन युक्रेनका सम्बन्धमा‘ आक्रमकताका विरुद्ध वास्तवमै कडा र बलियो रूपमा उभिन गइरहेको बताएकी छिन् । युक्रेन पूर्व सोभियत गणतन्त्र पनि हो। रुसले चाहिँ युक्रेनलाई उक्साएको आरोप लगाएको छ । उसले पूर्वतर्फ नेटोको विस्तार रोक्नुपर्ने तथा आफ्नो सीमा क्षेत्रमा हतियार र सैन्य उपस्थिति नबढाइने बारे ग्यारेन्टी खोजेको छ।