युक्रेनमा ६४ बालबालिकासहित कम्तिमा ८४७ गैरसैनिक नागरिकको मृत्यु

काठमाडौं । रुसले युक्रेनमा गरेको हमलायता त्यहाँ कम्तिमा ६४ जना बालबालिकासहित ८४७ जनाको मृत्यु भएको पुष्टी गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी निकायले युक्रेनमा आक्रमण सुरु भएदेखि हालसम्म उक्त मानवीय क्षतिको पुष्टी भएको जनाएको छ । अन्तर्राष्ट्रिंय संचारमाध्यमहरुका अनुसार यो संख्या अझ ठूलो पनि हुन सक्छ । किनकी युद्ध जारी रहेका कारण सबै स्थानमा स्वतन्त्रपूर्वक खोजी हुन सकेको छैन ।

ज्यान गुमाएका गैरसैनिकमध्ये अधिकांश गोलाबारी र हवाई आक्रमणबाट मारिएको जनाइएको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले ३३ लाखभन्दा बढी शरणार्थी युक्रेनको पश्चिमी सीमा पार गरेर अन्यत्र भागेको बताएकी छिन् । उनका अनुसार करिब २० लाखभन्दा बढी मानिस देशभित्रै विस्थापित भएका छन्। उता, रुसले विभिन्न सहरमा आक्रमण जारी राख्दा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने पुटिनसँग अविलम्ब वार्ताका लागि अघि सर्न आह्वान गरेका छन्।