युक्रेनलाई अमेरिकाले दिने क्लस्टर बमबारे अमेरिकाका सहयोगी मुलुकबीच नै मतभेद

REUTERS\BBC

काठमाडौं । युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने वाशिङ्गटनको निर्णयमाथि अधिकांश अमेरिकी सहयोगी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रवार राष्ट्रपति जो बाइडनले “धेरै कठिन निर्णय”को सङ्ज्ञा दिँदै अमेरिकाले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने विषय पुष्टि गरेका थिए। प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोगको विरुद्ध उभिएको बताएका छन्।

क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने जोखिमका कारण यो एक सयभन्दा बढी देशहरूमा प्रतिबन्धित छ। क्लस्टर उपकरणले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउँछ। यद्यपि तीमध्ये अधिकांश विस्फोट हुँदैनन् जसलाई ‘डड्स’भनिन्छ।

विस्फोट नभएका यस्ता बमहरूमाथि कसैले कुल्चिँदा वा अन्य छेडखानी हुँदा विस्फोट हुने सम्भावना हुन्छ जसले मान्छे मार्न वा अङ्गभङ्ग पार्न सक्छ। बाइडनले शुक्रवार सीएनएनसँगको एक अन्तर्वार्तामा, आफूले ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री अन्तर्गत अस्त्र दिने निर्णयबारे सहयोगी राष्ट्रहरूसँग छलफल गरेको बताएका थिए। राष्ट्रपतिले यस्तो निर्णय गर्न तयार हुन आफूलाई केही समय लागेको बताए। यद्यपि युक्रेनीहरूसँग अस्त्र कम हुँदै गएकाले” आफूले त्यस्तो कदम चालेको बताएका थिए।

मानव अधिकार समूहहरूले उक्त निर्णयको तत्कालै आलोचना गरेका थिए। एमनेस्टी इन्टरन्याश्नलले क्लस्टर अस्त्रहरू द्वन्द्व समाप्त भएको लामो समयसम्म नागरिक जीवनका गम्भीर खतरा बन्न सक्ने बताएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले पत्रकारहरू समक्ष अमेरिकाले युक्रेनमा पठाउन लागेको क्लस्टर बमहरूको असफलता दर रुसले युद्धमा प्रयोग गरेको उस्तै अस्त्रहरूको तुलनामा कम भएको बताएका थिए।

तर अमेरिकाका केही पश्चिमी सहयोगी राष्ट्रहरूले यसको निर्णयमा समर्थन जनाउन अस्वीकार गरेका छन्। बाइडनको यस निर्णयले एक प्रतिशतभन्दा बढी असफलता दर भएका क्लस्टर अस्त्रहरूको उत्पादन, प्रयोग वा स्थानान्तरणलाई प्रतिबन्ध लगाएको विद्यमान अमेरिकी कानुनको उलङ्घन गर्छ।

युद्धको प्रारम्भमा रुसले क्लस्टर तथा भ्याक्युम बमहरूको प्रयोग गरिरहेको आरोपबारे ह्वाइट हाउसलाई प्रश्न गरिँदा तत्कालीन प्रेस सेक्रेटरीले त्यो आरोप साँचो भएको खण्डमा त्यो सम्भावित ूयुद्ध अपराधू हुने जनाएका थिए। संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका तर्फबाट बोल्दै मार्टा हुर्टाडोले भनिन्ः यस्ता अस्त्रहरूको प्रयोग अभिलम्ब रोकिनु पर्छ र यसलाई कुनै पनि स्थानमा प्रयोग गर्न हुँदैन।

अमेरिकाको निर्णयबारे उनको अडानबारे प्रश्न गर्दा यूकेका प्रधानमन्त्री ऋषि सुनकले उक्त अस्त्रहरूको उत्पादन वा प्रयोगमा प्रतिबन्ध लगाउने र प्रयोगलाई निरुत्साहित गर्ने क्लस्टर अस्त्रसम्बन्धी अभिसन्धिमा हस्ताक्षर गरेका १२३ देशमध्ये यूके पनि एक भएको बताए। न्यूजिल्यान्ड उक्त अभिसन्धिका लागि जोड दिने राष्ट्रहरूमध्ये एक हो।

स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेको प्रतिक्रिया अनुसार त्यहाँका प्रधानमन्त्रीले अझै स्पष्ट रूपमा अमेरिकाको निर्णयविरुद्ध बोले। क्रिस हिप्किन्सले ती अस्त्रहरूले “अन्धाधुन्ध ढङ्गमा निर्दोष मानिसहरूलाई ठूलो क्षति पुर्‍याउने र सम्भवतः दीर्घकालीन प्रभाव पार्न सक्ने” बताए। उनले युक्रेनमा क्लस्टर बमको प्रयोगबारे न्यूजिल्यान्डको मत ह्वाइट हाउसलाई अवगत गराएको बताए।

स्पेनकी रक्षामन्त्री मार्गारिटा रोबल्सले युक्रेनमा केही हतियार र बम पठाउन नपाइने कुरामा आफ्नो देशको “दृढ प्रतिबद्धता” रहेको बताइन्। “क्लस्टर बमको विपक्षमा र युक्रेनको वैध प्रतिरक्षाका लागि पक्षमा छौँ जुन हामीलाई लाग्छ क्लस्टर बमको प्रयोगबाट सम्भव छैन,” उनले भनिन्। क्यानडा सरकारले आफू त्यस्ता बमले बालबालिकामा पार्न सक्ने सम्भावित असरबारे चिन्तित रहेको बताएको छ।

क्यानडाले पनि आफू क्लस्टर बमको प्रयोगको विपक्षमा रहेको र यससम्बन्धी अभिसन्धिको पूर्ण पालना गरिरहेको बताएको छ। हामी यस सम्झौतालाई विश्वव्यापी रूपमा आत्मसात् गर्न प्रोत्साहित गर्ने सन्धि अन्तर्गतको हाम्रो दायित्वलाई गम्भीरतापूर्वक लिन्छौँ, एक विज्ञप्तिमा जनाइएको छ। अमेरिका, युक्रेन र रुसले उक्त अभिसन्धिमा हस्ताक्षर गरेका छैनन् भने मस्को र किएभ दुवैले युद्धका क्रममा क्लस्टर अस्त्रहरू प्रयोग गरेका छन्।

यसैबीच अभिसन्धिमा हस्ताक्षर गरेको जर्मनीले आफूले युक्रेनलाई त्यस्ता हतियार नदिने तर अमेरिकी अडानमा समर्थन रहेको जनाएको छ। युक्रेनका रक्षमन्त्रीले क्लस्टर अस्त्रहरू सहरी क्षेत्रमा नभई दुस्मनको प्रतिरक्षा सीमाहरू तोड्न मात्र प्रयोग गरिने बताएका छन्।

अमेरिकाका लागि रुसी राजदूतले बाइडनको उक्त निर्णयको भर्त्सना गरेका छन्। क्रूरता र निन्दाबीच वाशिङ्गटनले किएभमा घातक अस्त्रहरू हस्तान्तरण गर्न अपनाएको नीति भर्त्सनायोग्य छ, अनातोली एन्टोनोभलाई उद्धृत गर्दै तास समाचार संस्थाले जनाएको छ।

बीबीसीको सहयोगमा