काठमाडौं (बीबीसी) । रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ। उसले त्यहाँ रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा गरिरहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेको जनाएको छ। महिनौँसम्म उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी लडाकुहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न रोकिरहेका थिए। शुक्रवार युक्रेनी फौज पछि हटेसँगै मारिऊपोलमा ठूलो क्षति हुनेगरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको छ।
रुसी रक्षा मन्त्रालयका अनुसार ५३१ युक्रेनी लडाकुहरू त्यहाँबाट हटेपछि मारिऊपोल र सो स्टील उद्योग अहिले पूर्णतः मुक्त भएका छन्। ‘लडाकुहरू लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको छ,’ एउटा विज्ञप्तिमा रुस सरकारले भनेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको बताए।
शुक्रवार एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने, ‘आज सैनिक कमान्डबाट उनीहरूलाई स्पष्ट सन्देश दिइयो कि उनीहरूले त्यहाँबाट बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्छन्।’ हप्तौँसम्म आजोभ्स्टाल क्षेत्र पूरै घेराबन्दीमा रहँदै आएको थियो। रुसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पुर्याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए।
उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न भनिरहेका थिए। उक्त क्षेत्रमा फस्नेमध्ये कैयौँ गैरसैनिक नागरिक थिए। तीमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि पर्छन्। यसै महिना हप्तौँसम्म राष्ट्रसङ्घ र रेडक्रसको संयोजनमा चलेको कठिन वार्तापछि उनीहरूलाई उद्धार गरिएको थियो। तर युक्रेनी सुरक्षाफौजका सदस्यले आत्मसमर्पण गर्न नमान्दा रुसले उक्त रणनीतिक बन्दरगाह सहरमा पूर्ण नियन्त्रण भने कायम गर्न सकेको थिएन। धेरै युक्रेनीहरूले आजोभ्स्टालमा खटिएका रक्षकहरूलाई रुसी आक्रमणको सशक्त सामना गरिरहेका ूराष्ट्रनायकूका रूपमा लिएका थिए।