युक्रेनी सेनाद्धारा रुसविरुद्ध सफलतापूर्वक प्रत्याक्रमण : अमेरिका

काठमाडौं (बीबीसी) । रुसले आक्रमण थालेको एक महिना पुग्नै लाग्दा युक्रेनी सेनाले कतिपय ठाउँमा सफलतापूर्वक प्रत्याक्रमण गरिरहेको अमेरिकाले बताएको छ। युक्रेनी सेनाले खासगरि दक्षिणी भेगमा त्यस्ता कारबाही गरिरहेको पेन्टागनको भनाई छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अतिक्रमणकारी रुसी सेनाको कब्जामा पुगेका केही भूभागमा पुनः नियन्त्रण कायम गर्नेगरी युक्रेनी सेनाले सफलतापूर्वक कारबाही गरिरहेको छ। पेन्टागनका प्रवक्ता जोन कर्बीले युक्रेनीहरू खासगरि दक्षिणी भूभागका केही क्षेत्रमा प्रत्याक्रमणमा उत्रिएको बताएका छन्।

राजधानी किएभस्थित बीबीसी सम्वाददाता लीज डुसेटले अतिक्रमण सुरु हुँदाताका पूर्णतः रक्षात्मक अवस्थामा रहेका युक्रेनीहरू अहिले ठाउँठाउँमा प्रत्याक्रमणमा उत्रिएको बताइन्। क्राइमियाको सबैभन्दा नजिक रहेको र रुसी कब्जामा गएको खेअरसन सहरलाई आफ्नो नियन्त्रणमा लिन युक्रेनीहरू प्रयत्नरत रहेका समेत उनले जानकारी गराइन् ।

दक्षिणको अर्को सहर भोज्नेसेन्स्कमा स्थानीय नागरिक तथा युक्रेनी सेनाले रुसी ट्याङ्कको एक लहरलाई नै ध्वस्त पारेर सहरमा आक्रमण गर्न खोज्ने रुसी सेनालाई पछि हट्न बाध्य पारेका छन्। राजधानी किएभको पश्चिममा रहेको माकारिभ नगरमा फेरि युक्रेनी झन्डा फहराइएको विवरण आएका छन्। तर दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भने सहरको केन्द्रमै चर्को लडाइँ भइरहेका छन्। त्यहाँ रुसी बमबारी रोकिएको छैन। मारिओपोल जहाँ तीन लाख मानिस फसेका छन् ।


युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मारिओपोल सहर नै अब बाँकी नरहेको समेत बताएका छन्। युक्रेनकी उपप्रधानमन्त्रीले इरिना भेरेस्चुकले ६ दिन अगाडि बमबारीमा परेको थिएटरमा फसिरहेको ठानिएका सयौँ मानिसलाई उद्धार गर्नबाट अझैपनि उद्धारकर्मीहरूलाई रोकिएको बताएकी छन्। कम्तीमा एक लाख मानिस मारिओपोल सहरबाट भाग्न खोजिरहेको र उनीहरू खाना र पानीको अभावबाट गुज्रिरहेको उनले बताइन्।