युक्रेन युद्धबारे अमेरिका र रुसबीच संवाद भइरहेको खुलासा

File Photo : Doug Mills/The New York Times

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्धका जारी रहेका बेला वाशिङ्टन र मस्कोबीच सञ्चारका माध्यमहरू खुला रहेको पुष्टि गरेका छन्। न्यूयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकाको हितमा रहेको बताएको बीबीसीले लेखेको छ ।

तर अधिकारीहरू आफूहरू कोसँग व्यवहार गरिरहेका छौँ भन्ने कुरामा स्पष्ट रहेको बताए। ह्वाइट हाउसले युक्रेनमा पारमाणविक तीव्रता रोक्नको लागि सुलिभानले रुससँग वार्ताको नेतृत्व गरिरहेको विवरणको खण्डन गरे लगत्तै उक्त जानकारी सार्वजनिक भएको हो।

वाल स्ट्रिट जर्नल पत्रिकाले उल्लेख गरे अनुसार सुलिभानले आफ्ना रुसी समकक्षी, सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभ र क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभसँग विगत केही महिनायता गोप्य वार्ताहरू गरेका छन्। वरिष्ठ अधिकारीहरूले उक्त पत्रिकासँग आफ्नो पक्षबाट युक्रेनको युद्धमा पारमाणविक वृद्धिको जोखिम कम गर्ने उपायहरूबारे छलफल गरेका बताए। उनीहरूका अनुसार द्वन्द्व अन्त्य गर्ने सम्बन्धमा उनीहरू कुनै वार्तामा संलग्न छैनन्।

गत महिना सुलिभानले पारमाणविक हतियारको कुनै पनि प्रयोगले रुसमा विनाशकारी परिणाम निम्त्याउने मत राखेका थिए। उनले रुसी अधिकारीहरूसँगको निजी वार्ताहरूमा वरिष्ठ अधिकारीहरूले सम्भावित अमेरिकी प्रतिक्रियाको क्षेत्रहरूबारे उल्लेख गरेको प्रसारक एनबीसीसँग बताए।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले समाचारको पुष्टि गर्न स्वीकार गरेनन्। उनले भने, ूमानिसहरू त धेरै कुराको दाबी गर्छन्। यद्यपि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पश्चिमी पत्रिकाहरूले थुप्रै मिथ्या खबर प्रकाशित गरेको आरोप लगाए।

तर ह्वाइट हाउसका प्रेस सचिव करिन जीन पियरले सोमवार अमेरिकाले रुससँग वार्ता गर्ने अधिकार सुरक्षित राखेको तर्क राखिन्। अमेरिकी राष्ट्रपति जो बाइडनका सबैभन्दा वरिष्ठ सल्लाहकारहरू मध्ये एक मानिने सुलिभानले मस्कोसँग सम्पर्क कायम राख्नु द्वन्द्वबाट प्रभावित प्रत्येक देशको हितमा भएको बताए।