काठमाडौं । युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग अमेरिका)ले चक्रपथ बिस्तारका क्रममा स्वयम्भू क्षेत्रमा रहेका संरचना नभत्काउन माग गरेको छ । नेपाल सरकारले काठमाडौं उपत्यकाको कलंकी देखि चाबहिल सम्मको सडक विस्तार गर्ने नाममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप र केही महत्वपूर्ण मूर्तिहरु लगायतका धार्मिक संरचनाहरु भत्काउन लागेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै एसोसिएशनले यस्तो माग गरेको हो ।
भगवान बुद्धको पवित्र जन्म भूमि नेपालमा बौद्ध सम्पदाहरुको उचित संरक्षण र प्रवर्द्धन गरिनु पर्नेमा उल्टै बिनास तर्फ उन्मुख हुनु ज्यादै दुःखदायी रहेको एशोसिएशनद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘नेपाल सरकारको यो गैर जिम्मेवारीपूर्ण निर्णयले विश्व शान्तिका अग्रनायक भगवान बुद्धका समस्त अनुयायीहरुको आस्था र विश्वाश माथि आघात पुग्न गएको छ’, विज्ञप्तीमा भनिएको छ ।’
यस असंवेदनशील निर्णयको कारण विश्व समुदायको सामु नेपालको छबिमा कालो धब्बा लाग्ने भन्दै एशोसिएशनले बौद्ध मान्यता अनुसार कुनै पनि स्थान बिशेषमा भुमि पूजन गरी स्थापना गरिएको मूर्ति, स्तूप या मन्त्रहरु कुँदिएका हातले घुमाउने मणिचक्र जे भए पनि एक पटक प्राण प्रतिस्ठा सम्पन्न गरी सके पछि कदापि हटाउन नमिल्ने समेत उल्लेख गरेको छ ।
एक ठाउँबाट अर्को ठाउँमा सार्न समेत नमिल्ने त्यस्ता धार्मिक आस्थाका प्रतीकहरु भत्काउने कुराको कल्पना मात्रै पनि गर्न नसकिने विज्ञप्तीमा उल्लेख छ । कुनै पनि धार्मिक समुदाय बिशेषको भावनामा ठेस् पुर्याउन सक्ने सबै खाले अवांछित् कार्यमा संघको सदैव असहमति रहने भन्दै बिकास निर्माणको नाममा वर्तमान सरकारले गर्न लागेको यस कार्यको युनाइटेड शेर्पा एसोसिएशन भत्र्सना गर्ने उल्लेख छ ।
संघले विकास निर्माणका लागि विकल्प खोज्न समेत सुझाव दिएको छ । सरकारले आफ्नो माग सम्बोधन नगरे धार्मिक सम्पदा संरक्षणको अभियानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा तीब्र बनाउँदै संयुक्त राष्ट्र संघ सम्म पुग्न बाध्य हुने चेतावनी संघका अध्यक्ष उर्गेन शेर्पाद्धारा जारी विज्ञप्तीमार्फत दिइएको छ ।