काठमाडौं । नेपालले टी–२० विश्वकप खेल्ने सूनौलो अवसर गुमाएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले हार्न पुग्यो । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालको बलिङ र ब्याटिङ दुवै चल्न सकेन । युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटियो । ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगेको नेपाल युएईसँग भने कमजोर देखियो ।
नेपालले पहिलोपल्ट सन् २०१४ मा टी–२० विश्वकप खेलेयता पुनः विश्वकपमा छनोट हुने अवसर यस पटक थियो । मंगलबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्याण्डले विश्वकपको टिकट पक्का गरेको छ । आयरल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान १८.३ ओभरमा १०९ रनमा अलआउट भयो ।
ग्लोबल क्वालिफायरको फाइनलमा युएई र आयरल्याण्ड पुगेका छन् । १७६ रनको लक्ष्य पछ्याउँदा पहिलो ओभरमै युएईका जुनैद सिद्धिकीले ओपनर आसिफ शेख र तेस्रो नम्बरमा आएका लोकेश बमलाई आउट गरेपछि नेपाल दवावमा आयो । त्यसपछि सम्हालिनै सकेन ।