यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनको गम्भिर आपत्ति

न्युयोर्क

आगामी मेई २९ का दिन मनाउन लागिएको नेपाल दिवसप्रति यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनले घोर आपत जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ । सँस्थाका अध्यक्ष पासाङ् शेर्पा र महासचिव मिङ्मार लामाले यो कार्य जनताको भावना बिपरित भएको समेत जनाएको छ ।

जारी विज्ञप्तिको पूर्णपाठ;
“आगामी मेई २९ का दिन मनाउन लागिएको भनिने कथित ‘नेपाल दिवस’ प्रति यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनको गम्भिर ध्यान आकर्षित भएको छ ।

अदम्य साहसका धनि तेन्जिङ् नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी एक अकल्पनीय कीर्तिमान कायम गरेको ऐतिहासिक दिन मेई २९ अन्तरराष्ट्रिय सगरमाथा दिवस (Everest Day) को रुपमा भव्यताका साथ मनाइँदै आईरहेको सर्वविदितै छ । विश्व मानव समुदाय सामु नेपाल र नेपालीको प्रतिष्ठा र स्वाभिमानलाई उँचो बनाउने मेई २९ अर्थात् सगरमाथा दिवस हाम्रो लागि एक गौरवशाली उत्सव हो । यस महोत्सवलाई न्युयोर्क राज्यमा दर्ता भई स्थापना भएको कृयाशील संस्था यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले नेपाली विगत आठ वर्ष अघि देखि निरन्तर रुपमा मनाउँदै आएको तथ्य जग जाहेरै छ । विगतका वर्षहरुमा यस दिवसलाई मनाउन यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, American Alpine Club, Explorer Club of USA, New York City Outbound र United Sherpa Association जस्ता संस्थाहरु सँग सहकार्य गर्दै आएको कुरामा यहाँहरु नै साक्षी हुनुहुन्छ ।

विश्व बिख्यात पर्वतारोहीहरुको साझा संस्था यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनको प्रमुख वार्षिक कार्यक्रम हो । यसरी बिश्वब्यापी रुपमा लोकप्रियता हासिल गरी स्थापित भैसकेको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई नै ओझेल पार्ने दूषित मनसायले मेई २९ कै दिन पारेर केही तत्वहरुले कथित नेपाल दिवस मनाउनको लागि भित्र भित्रै षड्यन्त्र रच्दै गरेको अवस्था प्रति यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनको ध्यान आकर्षित भएको हो । समग्र रुपमा विश्वभरका समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुको प्रतिस्ठा सँग गाँसिएको सगरमाथा दिवसको अस्तित्व मेट्ने दुरासयपूर्ण कदमको यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन घोर भर्त्सना गर्दछ । संसारभर छरिएर रहेका सम्पूर्ण स्वाभिमानी पर्वतारोहीहरुको शीर झुक्न नदिन यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन प्रतिबद्ध रहनेछ । यस्ता षड्यन्त्रकारी तत्वहरुको जाल देखि सावधान रहन संबन्धित सबैलाई यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन सजग गराउन चाहन्छ । “