१४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन् । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, “हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति, लोकतन्त्र र समावेशी विकासको बाटो हो ।”
सम्बोधनका क्रममा उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घट्नाक्रमका बारेमा जानकारी गराउनुभएको अमेरिकास्थित नेपाली स्थायी नियोगले जनाएको छ । नेपाली युवा पुस्ता (जेन–जेड)ले पारदर्शी, जवाफदेही, जनउत्तरदायी र सुशासनका आधारस्तम्भमा टेकेर निष्पक्ष, न्यायपूर्ण र समृद्ध राष्ट्र निर्माणको माग गरेको स्थायी प्रतिनिधि थापाले बताए ।
नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको नेतृत्वमा राज्य सञ्चालन भइरहेको जानकारी दिँदै उनले सार्वभौम नेपाली जनताले नयाँ नेतृत्व छान्न पाउने अधिकारसहित आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकिएको बताए । संयुक्त राष्ट्रसङ्घलाई बहुपक्षीयताको आधार, शान्ति, न्याय, मानव स्वाभिमान, साझा समृद्धि तथा नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्थाको आशा भएको उल्लेख गर्दै उहाँले त्यसका महत्वपूर्ण एवं आधारभूत मूल्यमान्यताहरूलाई जोगाउनुपर्नेमा जोड दिए ।
संयुक्त राष्ट्रसङ्घ र यसको ‘चार्टर’लाई नेपालको परराष्ट्र नीतिको आधारस्तम्भका रूपमा व्याख्या गर्दै स्थायी प्रतिनिधि थापाले बहुपक्षीयताप्रति नेपालको अटुट विश्वासलाई पुनः पुष्टि गरे । उनले सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेपछिको सात दशकभन्दा बढी समयदेखि विश्वभर शान्ति प्रवद्र्धन, मानव स्वाभिमान र दिगो विकासका क्षेत्रमा नेपालको उल्लेखनीय योगदान रहँदै आएको स्मरण गरे । “राष्ट्र सङ्घको आह्वानअनुसार विश्वकै सबैभन्दा ठूलो शान्ति सैनिक पठाउने देशका रुपमा नेपाल रहेको छ,” स्थायी प्रतिनिधि थापाले भने, “हाम्रा उच्च व्यावसायिक शान्ति सैनिकहरू जिम्मेवारी बोधसहित विश्वका द्वन्द्वग्रस्त विभिन्न क्षेत्रमा शान्ति र स्थायित्वका पक्षमा अहोरात्र खटिरहेका छन् ।”
उनले जलवायु परिवर्तनका कारण उत्पन्न विकराल समस्यासहित विश्वमा देखिएका सङ्कटप्रति चिन्ता व्यक्त गर्दै सबै प्रकार र स्वरुपका आतङ्कवादको निन्दा गर्नुरे । सम्बोधनका क्रममा पूर्ण निःशस्त्रीकरणको आह्वान गर्दैै उनले विश्व शान्ति र समृद्धिका पक्षमा जोड दिए । प्यालेस्टाइनको गाजा क्षेत्रमा चर्किंदो मानवतावादी सङ्कट र हमासद्वारा निर्दोष नागरिकलाई बन्धक बनाइएका घटनाप्रति चिन्ता एवं आपत्ति व्यक्त गर्दै उहाँले सन् २०२३ अक्टोबर ७ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीलाई तुरुन्त मुक्त गर्न आग्रह गरे ।
महासभालाई सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले विश्व शान्ति र सुरक्षाको प्रत्याभूति, बहुपक्षीयताको सुदृढीकरण र विश्वास पुनःस्थापना, दिगो विकास लक्ष्य कार्यान्वयनमा तीव्रता, अति कम विकसित देश तथा कमजोर मुलुकका लागि विकास तथा जलवायु वित्त, जलवायु न्याय, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र समावेशी ‘डिजिटल’ रुपान्तरण प्रवद्र्धनलगायतका विषयमा विश्वव्यापी कार्यका लागि आह्वान गरे ।
अतिकम विकसित राष्ट्र र आर्थिक तथा सामाजिक परिषद् समेतको अध्यक्षका हैसियतमा स्थायी प्रतिनिधि थापाले प्रभावकारी, विश्वासिलो र नतिजामुखी सहकार्यद्वारा सुरक्षित, समृद्ध र दिगो विश्व निर्माणमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे । संयुक्त राष्ट्र सङ्घको ८०औँ महासभाको पहलले समावेशी, पारदर्शी र प्रभावकारी बहुपक्षीय प्रणालीतर्फको सामूहिक प्रतिबद्धता नवीकरण गर्ने अवसर दिएको बताउँदै उनले अतिकम विकसित मुलुक र भूपरिवेष्टित विकासशील देशहरुलाई प्राथमिकतासहित सहयोग एवं सहुलियतको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
स्थायी प्रतिनिधि थापाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा सुधार गरी यसलाई अझ प्रतिनिधिमूलक, पारदर्शी र जवाफदेही बनाउनुपर्ने नेपालको मागलाई पुनः स्मरण गराए । वर्तमान विश्व यथार्थअनुसार विश्व वित्तीय संरचनाको सुधार आवश्यक रहेको पनि उनको जोड थियो । सामान्यतया राष्ट्रप्रमुख वा सरकारप्रमुखको नेतृत्वमा राष्ट्र सङ्घीय महासभामा भाग लिने परम्परा रहेकामा यस वर्ष भने स्थायी प्रतिनिधि थापा नेतृत्वको प्रतिनिधिमण्डल सक्रिय रहेको छ ।