यूरोपका ८ मुलुकमा देखियो कोरोनाको नयाँ भाइरस

लण्डन । बेलायतमा देखा परेको कोरोना भाइरसको नयाँ भाइरस यूरोपका ८ मुलुकसम्म बिस्तार भएको पाइएको छ । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म ८ वटा युरोपेली मुलुकमा फैलिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

युरोपेली संघ अन्तर्गतका आठ देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उल्लेख गरेको छ । डब्ल्यूएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको बताएका छन् ।

उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइकासाथ पालना गर्नु पर्ने बताए । कोरोनाको पुरानो भाइरसकोभन्दा फरक नतिजा देखाउँदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको बताइएको छ ।

नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताए डब्लूएचओले मुलुकको नाम भने सार्वजनिक गरेको छैन । उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात हुने वा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता उपायलाई कडाइकासाथ अवलम्बन गर्न समेत आह्वान गरेका छन् ।

यसको गुण, लक्षण, असरलगायतमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएमा धेरै कुरा प्रष्ट भइसकेपछि मात्र नयाँ रणनीति तय गर्न सकिने समेत डब्ल्यूएचओले उल्लेख गरेको छ । बेलायतमा पहिलो पटक देखिएको यो भाइरसले विश्वभर चिन्ता भने बढाएको छ ।

यससँगै विश्वभरबाट बेलायतमा भ्रमण रद्द गरिसकेका छन् । बेलायतबाट आउने मानिसहरुलाई समेत प्रतिवन्ध लागिसकेको छ ।