यूरोपमा आँधी, कम्तिमा १३ को मृत्यु

File : (NHC). (Xinhua/Yin Bogu/IANS)

पेरिस । यूरोपका विभिन्न भेगमा आएको विनासकारी आँधीले कम्तिमा १३ जना मारिएका छन् । अन्तरांष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार मध्य युरोपमा आएको घातक आँधीमा परी उक्त मानवीय क्षति भएको हो । आँधीका कारण त्यत्तिकै संख्यामा मानिस घाइते भएका छन् । आँधीले सैयौं घरमा क्षति पुर्याएको छ । फ्रान्सको कोर्सीका टापुमा बिहीबार बिहान आएको भीषण आँधी र हुरी बतासका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

तीन दिनको तीव्र वर्षापछि बिहीबार परेको चट्याङले पाँच जनाको ज्यान गएको कोर्सीकन प्रहरीलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इटालीको टुस्कनी क्षेत्रमा शक्तिशाली हावाहुरी चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दक्षिणी अस्ट्रियामा तीन वयस्क र दुई साना बालबालिकाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

इटालियन नागरिक सुरक्षा एजेन्सीका अनुसार १०० जनाभन्दा बढी मानिसहरूलाई उद्दार गरी स्कुल र जिम केन्द्रमा आपतकालीन आवासमा राखिएको छ ।२२४ किलोमिटर प्रति घण्टाको गतिमा आएको असिना, भारी वर्षा र हावाले दुर्घटना निम्त्याएको फ्रान्सेली अधिकारीहरुले उल्लेख गरेका छन् ।

स्थानीय फ्रान्सेली सञ्चारमाध्यमका अनुसार प्रमुख पर्यटकीय गन्तव्य कोर्सीकामा ज्यान गुमाउनेमा १३ वर्षीया बालिका र उनी बसेको शिविरकै एक ७२ वर्षिया महिला छन् जसको कारलाई समुद्री तटको बंगालाको छत खसेर चेपेको थियो । इटालीको लुक्कामा एक पुरुष र कारारामा एक महिला गरी दुवैको रूख ढलेर मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।

इटालीकै मारिना डि मासाको समुद्री किनार शिविरमा रहेका व्यक्तिको गाडीमा स्थानीय घरको छाना खसेर चार जना घाइते भएका छन् । ती चारै जनालाई बारगा सहरको अस्पतालमा भर्ना गरिएको छ । आँधीले भेनिस सहरका केही भवनलाई पनि क्षति पुर्‍याएको छ ।

१२० देखि २२४ किलोमिटर प्रति घण्टासम्मको तीव्र हावा र मुसलधारे वर्षाले बिहीबार इटाली, स्पेन, अस्ट्रिया फ्रान्स लगायतका देशमा रुखहरू ढलेर बाढी आएको छ । मिलान सहरका अधिकारीहरूले नागरिकहरूलाई पार्किङ वा रूखमुनि हिँड्नबाट जोगिन र उनीहरूको बालकोनीमा राखिएका वस्तु हटाउन आग्रह गरेका छन् ।