यूरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको चेतावनी

POLISH DEFENCE MINISTRY|bbc

काठमाडौं । बेलारुसले आप्रवासी संकटको विषयलाई लिएर यूरोपेली संघले प्रतिवन्ध लगाएमा कडा कदम चाल्ने चेतावनी दिएको छ । त्यहाँका राष्ट्रपतिले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाइए युरोपको ग्यास आपूर्ति नै रोकिदिने चेतावनी दिएका हुन् । बीबीसीका अनुसार बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासी युरोपेली सङ्घ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन्।

ईयू अधिकारीहरूले बेलारुसलाई उक्त सङ्कटलाई उचालेर सुरक्षा अवस्था बिगारेको आरोप लगाएका छन्। बेलारुसले भने यो आरोप स्वीकार गरेको छैन । जसविरूद्ध ईयूले नयाँ प्रतिबन्धको तयारी गरिरहेको खबर सार्वजनिक भएपछि बेलारुसले यस्तो धम्की दिएको हो । बेलारुसमा लामो समयदेखि सत्तामा रहेका तानाशाही नेता एलेक्जेन्डर लुकासेन्कोले एउटा चेतावनी दिँदै प्रतिबन्ध लगाइएमा आफूहरूले जवाफ दिनुपर्ने बताए ।

बेलारुस हुँदै ईयू जाने रुसी ग्यास पाइपलाइनलाई सङ्केत गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘हामीले ग्यास आपूर्ति रोकिदियौँ भने के होला ?’ पोल्याण्डतर्फ जानका लागि आप्रवासीहरूको एउटा समूह सेन्ट्रल मिन्स्कमा जम्मा भएको छ