काठमाडौं\एजेन्सी । युरोपेली सङ्घले हाल युरोपमा जारी चरम खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ । खडेरीका कारण यस महादेशका झन्डै दुई तिहाइ क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको छ । बीबीसीका अनुसार सङ्घले यो खराब अवस्था पाँच वर्षयताको खराब भएको बताएको छ । युरोपमा ४७ प्रतिशत भू–भागमा माटोको चिसोपना सुकेको र थप १७ प्रतिशत भू–भागमा खडेरीको प्रभाव पर्न थालेको सङ्घले उल्लेख गरेको छ । खडेरीका कारण उत्पादनमा असर पर्नुको साथै डढेलो बढाउने चेतावनी दिइएको छ ।
खडेरीका कारण सन् २०२२ मा अघिल्ला पाँच वर्षको औसत उत्पादनको तुलनामा मकैको उत्पादन १६ प्रतिशतले, सोयाबिन १५ प्रतिशतले र सूर्यमुखी तेल १२ प्रतिशतले घट्ने युरोपेली सङ्घको अनुमान छ । यस्तै युरोपका सबैजसो नदीमा पानीको मात्रा घटेको छ । यसले पारवाहन र जलविद्युत् उत्पादनमा पनि समस्या बढेको छ । खडेरीका कारण युरोपेली नदी घटिरहँदा नदीमुनि छोपिएका ऐतिहासिक अवशेष बाहिरबाटै देखिन थालेका बीबीसीले जनाएको छ ।