काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यो वर्ष पनि असार १५ मा पर्ने मनाईने धान दिवस तथा रोपाइँ महोत्सवमा औपचारिक कार्यक्रम नहुने भएको छ । कृषि विभागका अनुसार यस वर्ष हिलो खेल्न तथा मनोरञ्जनात्मक गतिविधिमा रोक लगाइएको हो । कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा धान दिवस मनाउन समेत सर्वसाधारणमा आह्वान गरेको छ ।
विभागले सांस्कृतिक, परम्परागत तथा मनोरन्जनात्मक कार्यक्रम तथा हिलो खेल्ने काम नगर्न तथा कोभिड सुरक्षाको न्युनतम् स्वास्थ्य मापदण्ड पालना गर्न भनेको हो । महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट सुरक्षित रहन, महोत्सव मनाउने ठाउँमा पनि थोरै संख्यामा मात्रै भेला हुन र सुरक्षाका सबै मापदण्ड पालना गर्न विभागले सर्वसाधारणसँग आग्रह गरेको हो ।
सरकारले १५ असारमा वर्षेनी मनाउँदै आएको रोपाइँ महोत्सव यस वर्ष पनि सांकेतिक रुपमा मनाउने निर्णय गरेको हो । यो वर्ष पनि कृषि अनुसन्धान परिषद्को हातामा अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७८ मनाइने छ । गत वर्ष यसै गरि दिवस मनाइएको थियो । स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार न्युन सहभागितामा रोपाइँ गरिने र कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री बसन्त नेम्वाङ भने सहभागी हुनेछन् ।