काठमाडौं । दशैंको फुलपातीको दिन नेपाली सेनाले टुडिखेलमा भब्य कार्यक्रम आयोजना गरी र्ष बढाई गर्छ । त्यसक्रममा देशभर शक्तिपिठहरुमा पूजाआजा समेत हुने गर्छ । तर, कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यो वर्षको दशैं साविकमा जस्तै हुने छैन । त्यसकारण फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ ।
कोभिड–१९ को संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले नेपालको राष्ट्रिय समाचार समितिलाई जानकारी गराएका छन् । यो वर्ष फूलपाती आगामी कात्तिक ७ मा परेको छ ।
स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा सांकेतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना बनाएको पौडेलले बताएका छन् ।
यसअघि बढाइँमा पूर्व, पश्चिम र दक्षिणपाटाबाट ८४\८४ जनाको गुल्मले बढाइँ गर्थ्यो । यस पटक सामाजिक दूरी कायम गरी २५\२५ जनामा सीमित गरिएको छ । बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुने परम्परा छ ।
विगतमा जस्तै लामो कार्यक्रम आयोजना हुने छैन । छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शन गर्ने छ । विगतमा सेनाबाहेक एक हजार २०० को संख्यामा पाहुना बोलाएर टुडिखेलमा कार्यक्रम हुन्थ्यो । यो वर्ष सेनासहित मात्र १ सय जना पाहुना सहभागी हुनेछन् ।