यो वर्ष सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

काठमाडौं । सरकारले सार्वजनिक स्थानमा होली खेल्न नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली)का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको हो ।

कोरोनाभाइरसको संवेदनशिलतालाई मध्यनजर गर्दै होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको कार्यालयले जनाएको छ ।

होलीका लागि कार्यालयले कुनै पनि निकायलाई सार्वजनिक कार्यक्रम गर्न स्थानीय प्रशासनले अनुमति दिएको छैन ।

त्यसो त भारतमा पनि दिल्ली सरकारले राजधानीमा होलीका औपचारिक कार्यक्रममा प्रतिवन्ध लगाएको छ । बुधबार दिल्ली सरकारले यस्तो निर्णय गरेको हो ।

अहिले भाइरस संक्रमणको डर सबैतिर भएको र विभिन्न सञ्चार माध्यमले पनि जानकारी दिइरहेकाले मानिसहरू सचेत हुनुपर्ने भन्दै औपचारिक कार्यक्रम र भीडभाड नगर्न स्थानीय प्रशासनले सचेत बनाएको छ ।

उता, स्वास्थ्य मन्त्रालयले समेत यो रोगको संक्रमणबाट बच्न भीडभाडमा नजान आग्रह गरेको छ ।

होलीको अवसर पारी काठमाडौंमा हजारौं मानिस सडकमा एकसाथ निस्किएर रमाइलो गर्ने प्रचलन रहेको छ । यो वर्षको होली आगामी २६ फागुनमा परेको छ ।