रअ प्रमुख गोयलले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको पुष्टी गरेका हुन् ।

यसअघि बुधबार सुटुक्क काठमाडौं आएका रअका प्रमुखसँगको भेटवार्ता गुपचुप राखिएको थियो । प्रधानमन्त्रीलाई भेट गरी उनी बिहीबार दिल्ली फर्किसकेका छन् । उनी विशेष विमान चढेर प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका हुन् । रअ प्रमुखले बुधबार बेलुका प्रधानमन्त्रीलाई उनको सरकारी निवास बालुवाटारमा भेटेको थापाले पुष्टी गरेका छन् ।

भेटका क्रममा गोलयले नेपाल र भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन् ।

उता, नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र कांग्रेस सभापति शेर बहादुर देउवाले भने रअका प्रमुखसँग भेट नभएको स्पष्ट पारेका छन् । यसअघि नेपालका केही संचारमाध्यमले नेताहरुलाई समेत भेटेको बारे समाचार लेखेका थिए ।

तीन वटै नेताको सचिवालयले यो खबरको खण्डन गरेका छन् । नेपाल र भारतको सम्बन्ध चिसिएको समयमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।