रङ्ग्याइँदै रातो मच्छिन्द्रनाथको मूर्ति

काठमाडौं । अर्को साता मच्छिन्द्रनाथको रथारोहणको साइत रहेकाले रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाउन सुरु गरिएको छ । रातो मच्छिन्द्रनाथको रथयात्रापूर्व मूर्तिलाई लगनखेलमा राखी विधिवत् रुपमा नुहाइदिने प्रचलन छ । त्यसपछि मन्दिरका पुजारीहरूले चोखो गरी मूर्तिमा रङ लगाउने गर्छन्। रङरोगनको लागि औसतमा तीनदेखि चार दिनसम्म समय लाग्ने गर्छ । रङ लगाउनुअघि माटोले मच्छिन्द्रनाथको मूर्तिमा लेप लगाइन्छ । मच्छिन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रङको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ । रङ रोगनका लागि सिम्रिक हिन्गु, सरेस, प्रशोधित चुन तथा मोहनी (गाजल) र म्हैपी अजिमाबाट ल्याएको माटोको आवश्यकता पर्छ । रङ रोगन पश्चात् मूर्ति दश कर्मको लागि तंः बहालस्थित मच्छिन्द्रनाथ मन्दिरको एक कुनामा राख्ने चलन छ ।