रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, पुनः सुनुवाइ हुने

काठमाडौं । रञ्जन कोइरालाको फैसला सर्वोच्चमा पुनः सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनको निवेदनमा फैसला गर्दै अनुमति दिएका हुन् ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा सजाय कम गर्ने फैसला गरेको थियो ।

सरकारी वकिलको कार्यालयले सोही फैसलाविरुद्ध शुक्रवार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेको थियो । तीन जनाको इजलासले उक्त फैसलामाथि पुनः सुनुवाइ हुने अनुमति दिएको हो।

राणा सहितको इजलासले गरेको फैसला त्रुटिपूर्ण थियो वा थिएन भन्ने आगामी दिनको सुनुवाइमा जाँच गर्नेछ।