काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको भन्ने समाचारले सिङ्गो राजनीतिक र सामाजिक क्षेत्र समेत तरङ्गित बनिरहेका बेला दुई वटै पक्षले यसबारे अनविज्ञता प्रकट गरेका छन् ।
प्रधानमन्त्रीको प्रस्ताव गरेको भनिएको नेकपा एमाले र प्रस्ताव आएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी दुबैले यो समाचार झूटो भएको प्रतिक्रिया दिएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयम्ले हिजो यसबारे आफूलाई केही कुरा थाहा नभएको प्रतिक्रिया दिएका थिए ।
त्यसको भोलिपल्ट आज रास्वपाका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य डीपी अर्यालले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव कसैले पनि नगरेको बताएका छन् । बरु उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुरानो मन्त्रालय दिन तयार रहेको र सरकारमा पुन: फर्किने सङ्केत गरेका छन् ।
यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर, लामिछानेको नागरिकता प्रकरणका कारण सरकारबाट बाहिरिएको रास्वपा पुन: सोही मन्त्रालयहरूसहित सरकारमा सहभागी हुने उनको सङ्केत छ ।
रवि लामिछानेले फेरि चुनाव जितेर आएपछि प्रचण्ड रास्वपालाई पुरानो मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न तयार भएको अर्यालको दाबी छ । तर, प्रचण्ड स्वयम्ले भने रास्वपाले भनेकै मन्त्रालयहरू अहिलेको अवस्थामा दिन नसकिने अभिव्यक्ति दिदै आएका छन् । यद्यपि, नीति कार्यक्रम भने पुनर्लेखन गर्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।