काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा गरेका छन् । सोमबार मिश्रले विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र लेख्दै आफूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको बताएका हुन्। उनले सोमबार राति ९ बजेतिर सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्षसमक्ष राजीनामा पत्र पेस गरेको जानकारी दिएका छन्। मिश्र राप्रपामा जाने तयारीमा छन्। उनले झन्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम सम्वर्द्धनवादी राष्ट्रवादी शक्तिको निर्माणमा आफु लागेको बताएका छन् ।
पार्टी छाड्नु आफ्नो जीवनकै एक सबैभन्दा कठिनतम निर्णय भएको समेत उनको भनाई छ । लामो गृहकार्यपछि आफैंले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय नभएको उनको भनाई छ