रसियाबाट साढे २ करोड खोप नेपाल आउने खबरले तातियो विश्वबजार

काठमाडौं । मंगलबार विश्वभर एक खबर सनसनिपूर्ण रुपमा फैलियो, रसियाले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालले साढे २ करोड डोज खरीद गर्न सम्झौता गरेको छ । त्यो सम्झौता पनि सरकारी निकायले होइन, निजी कम्पनीले ।

धेरैका लागि अपत्यारिलो लाग्ने यो खबर वास्तविक भएको पुष्टी त्यति बेला भयो, जब रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले यसको घोषणा गर्यो र भन्यो, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका छौं ।’ ‘स्पुतनिक–भी’ रसियाले बनाइरहेको नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो ।

यस खबरबारे विश्वभर प्राथमिकताका साथ समाचार बनेका छन् । रोयटर्सदेखि भारतीय मिडियासम्मका समाचारमाध्यमले यसलाई समाचारमा समेटेका छन् । तर, यता सरकारी नियका भने यो सम्झौताबारे बेखर देखिएका छन् ।

महामारीविरुद्ध खोप ल्याउने र जनतालाई वितरण गर्ने दायित्व सरकारको हो । तर, खोपको अन्तिम परीक्षण नहँदै नेपालका लागि यो खोपको आयातकर्ताका रुपमा एक निजी कम्पनीले सम्झौता गरिसकेको छ । तर, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभागलगायत नेपालका सरकारी आधिकारी निकायलाई भने यसबारे खबरै नभएको पाइएको छ ।

अहिले ‘स्पुतनिक–भी’को तेस्रो चरणका परीक्षण भइरहेको छ । मध्यअक्टोवरसम्म यसको परीक्षण पुरा हुने अपेक्षा गरिएको छ । त्यसो भएमा छिट्टै खोप बजारमा आउने तथ्य भने पक्का भएको छ । तर, खोपको उत्पादन थालिएपछि नेपालमा ल्याउन र प्रयोग गर्न पनि नेपाल सरकारको अनुमति अनिवार्य हुन्छ ।

विश्वभर १ सय ४० भन्दा बढी खोपको परीक्षण भइरहेको छ । यसमा मुलुकहरुले अर्बौ रुपैयाँ खर्च गरिरहेका छन् । उनीहरु त्यो खर्च खोप बेचेरै उठाउन चाहन्छन् । सोहीकारण अब मुलुकहरुले आफ्नो बजारको खोजी शुरु गरिसकेका छन् ।

त्यसक्रममा रुसले नेपालको निजी कम्पनीमार्फत नेपाल छिर्न खोजेको स्पष्ट भएको छ । यसमा अप्रत्यक्ष रुपमा सरकारी मान्छेहरुले समेत साथ दिएका छन् । किनकी ट्रिनिटी नामक कम्पनी तत्कालीन एमाले निकट स्वास्थ्य सामाग्री आपूर्तिकर्ता विशाल पण्डित संलग्न रहेको कम्पनी हो ।