रसुवागढी नाका दुईतर्फी चलाउने सहमति, होला कार्यान्वयन ?

काठमाडौं । नेपाल र चीनबीच रसुवागढी नाका दुईतर्फी संचालन गर्ने सहमती जुटेको छ । कोभिड–१९ को कारण सुरुआतबाटै यो नाकामा अवरोध हुँदै आएको छ । रसुवागढी–केरुङनाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमति भएपनि कार्यान्वयनमा भने अझै शंका छ । किनकी लामो समयदेखि चीजले विभिन्न बाहना बनाउँदै एकतर्फी मात्र सामान पठाइरहेको छ । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा चीनले कोरोना भाइरस मापदण्डलाई पालना गर्दै उक्त नाकाबाट सामग्रीहरु आयात र निर्यात गर्न सहमत भएका हुन् ।

नेपाल र चीन व्यापार सञ्चालन गर्न दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्न समेत सहमत भएका छन् । बिहीबार भएको सीमासम्बन्धी परामर्श बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको सीमा तथा समुन्द्र सम्बन्धित मामिला विभाग महानिर्देशक होङ लियाङले गरेका थिए । यस्तै, दुवै पक्षले हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि भएको छ ।