काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । संग्रहालयमा परिणत गरिएको नारायणहिटी दरबार भित्र ‘श्री सदन’ राजा वीरेन्द्रको निजी निवास थियो । तर, यो कक्ष सर्वसाधारणले हेर्न भने पाएका थिएनन् ।
आइतबारबाट श्री सदन सर्वसाधारणको अवलोकनका लागि खुल्ला गर्ने तयारी सरकारले गरेको हो । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक घोषणा गरेका छन् ।
सोहीअनुसार आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने छन् । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्दै आएका थिए । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएपछि श्री सदन बन्द भएको हो ।
सरकारले २०७७ वैशाख १ मै श्री सदन खोल्ने बताएको थियो । तर, कोरोना भाइरसको संक्रमणका कारण यो सम्भव भएन । आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला गरिने भएको छ ।
स्मारक २०७६ जेठ १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी हुन् । श्री सदन २०२३ सालमा बनेको हो । तीन तले भवनमा कुल १२ वटा कोठा रहेका छन् ।