राप्रपामा नयाँ नेतृत्वका लागि मतदान शुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा मतदान जारी रहेको छ । काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न शनिबार बिहान आठ बजेबाट मतदान थालिएको हो । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन भिडिरहेका छन् । राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिदैछन् ।

बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।