राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा ऐतिहासिक रुपमा नेतृत्व परिवर्तन भएको छ । राप्रपा अध्यक्षमा भएको निर्वाचनमा राजेन्द्र लिङ्देन विजयी भएका हुन् । उनले पूर्वअध्यक्ष कमल थापालाई २ सय मत अन्तरले हराए । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाए । कमल थापाले १ हजार ६ सय १७ मत पाए । ४३१ मत बदर भयो ।

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालबाट प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्ने बताएका छन् ।

उनले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना भनेका छन् । खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् । रेखा थापा भने पराजित भएकी छिन् ।