काठमाडौं । स्पेनिस टेनिस स्टार राफेल नाडालले कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि जितेका छन् । उनी सर्वाधिक पटक ग्रान्डस्लाम टेनिस उपाधी जित्ने पहिलो खेलाडी बन्न सफल भए । आइतबार मेलवर्नमा भएको अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्दै ३५ वर्षीय नाडालले महत्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाए । उनले विश्व दोस्रो वरीयतामा रहेका रुसी स्टार डानियल मेदभेदेभलाई हराएका हुन् । पहिलो दुई सेट गुमाएका नाडालले त्यसपछिका तीन सेट लगातार जिते ।
पहिलो सेट २–६ र दोस्रो सेट ६–७(५) ले गुमाएका नाडालले त्यसपछि ६–४, ६–४ र ७–५ ले जित्दै कीर्तिमान राखेका हुन् । नाडालले २१औं ग्रान्डस्लामको उपाधि जित्न सफल भएका हुन् । नाडालले अस्ट्रेलियन ओपन दोस्रो पटक जितेका हुन्। यसअघि उनले सन् २००९ मा अस्ट्रेलियन ओपन जितेका थिए। नाडाल यसअघि नोभाक जोकोभिच र रोजर फेडेररसँग बराबरीमा थिए । दुबै खेलाडीको नाममा २० ग्रान्डस्लाम उपाधि छ ।