रामकुमारी झाँक्री पक्राउ प्रकरणले तात्यो दिनभरको राजनीति, अन्ततः झुक्यो सरकार

काठमाडौं । बिहीबार दिनभर राजनीति केन्द्रमा रहिन् नेकपा नेतृ रामकुमारी झाँक्री । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुगेसँगै अनेरास्ववीयुका कार्यकर्ता नाराबाजी गर्दै घेराउमा पुगेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीविरुद्ध चर्को नाराबाजी गरे ।

तर, प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर आएपछि भने रामकुमारी झाँक्री आफैले गिरफ्तारी दिइन् । उनलाई महानगरीय अपराध महाशाखामा राखिएको थियो । महाशाखामै पुगी उनलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता योगेश भट्टराईले भेट गरे ।

उनलाई पक्राउ गरेको विरोधमा दिनभरजसो सामाजिक संजालमा सरकारको कडा आलोचना भयो । नेपाली कांग्रेस, नेता गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित सबैले उनको गिरफ्तारीको कडा आलोचना गरे । उनको समर्थनमा बानेश्वरमा अनेरास्ववीयुले जुलुस निकाल्यो ।

अन्ततः साँझ उनलाई प्रहरीले छाडेको छ । चर्को आलोचनाका बीचमा सरकार झुक्न बाध्य भएको छ । यसअघि झाँक्रीले गोरखामा राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नेकपा संम्बद्ध महिला संघले पक्राउ गरी कारवाही गर्न गृहमन्त्रीसमक्ष अपिल गरेको थियो ।

झाँक्रीले भने आफु खलपात्रा विरुद्ध बोलेको भन्दै राष्ट्रपति पदसँग आफ्नो सधै सम्मान रहने बताउँदै आएकी छिन् । उता, प्रहरी हिरासतबाट रिहा भएपछि नेतृ झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको जानकारी दिइन् ।