काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट कलाकार तथा श्रष्टाहरुलाई सम्मानित गरिएको छ । सोमबार नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहमा उपस्थित भई राष्ट्रपति भण्डारीले उनीहरुलाई सम्मानित गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले कलाकारहरु सभ्यताका वाहक र सिर्जना राष्ट्रका अमूल्य निधि तथा सम्पदा रहेको बताइन् । राष्ट्रपति भण्डारीले कुनै पनि समाजको सभ्यताको स्तरलाई कला, साहित्य र सङ्गीतले प्रतिविम्बत गरेको पनि उल्लेख गरिन् ।
स्वर्गीय श्रेष्ठ नेपाली सङ्गीतको इतिहासमा स्वर्णिम युग स्थापना गर्ने अग्रणी सङ्गीतकार तथा गायक मानिन्छन् । राष्ट्रपति भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७७ बाट गायन विधामा नुपुर बनर्जी भट्टचार्यलाई सम्मानित गरिन् । वाद्य बादनमा नारायणदास कार्की ढली, साउन्ड इन्जिनियरमा प्रदीप उपाध्यक्ष, गायनमा उमेश पाण्डे, कुन्ती मोक्तान र सीताराम पोखरेल, अर्केष्ट्रा–सङ्गीतमा राजकुमार श्रेष्ठ तथा शास्त्रीय सङ्गीतमा प्रभु ढकाल नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान २०७७ बाट सम्मानित भए ।
रचनामा एस.पी. कोइराला, बी.बी. थापा, सहदेव ढुङ्गाना, शिला पन्त, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शीतल कामम्बिनी सम्मानित भए । नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०७७ मार्फत गायन विधामा निशा देशार र शिव परियार सम्मानित भए । रचना विधामा अरुण तिवारी र सङ्गीत विधामा सन्तोष श्रेष्ठ सम्मानित भए । राष्ट्रपति भण्डारीबाट नातिकाजी राष्ट्रिय योगदान सम्मान तथा प्रशंसापत्र १४ जनाले प्राप्त गरे । सङ्गीत संयोजकमा मनोहर सुनाम, गायनमा गुम्बु शेर्पा र जारा रित प्रसाईं सम्मानित भए ।
समाजसेवातर्फ धुर्वकुमार श्रेष्ठ, सुनिल शर्मा, ठाकुरप्रसाद ढुङ्गाना, डा. कल्याणराज शर्मा, चिरन्जिवी थापा, डण्डपाणि कडेल (डि.पी), द्विराज शर्मा शिवाकोटी र नवराज केसी सम्मानित भए । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ मार्फत् रचनामा डि.पि.दाहाल, सङ्गीतमा अर्जुन पोख्रेल तथा गायनमा सिन्धु मल्ल र अजर जंगम सम्मानित भए ।
नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार २०७७ मार्फत् सङ्गीत संयोजनमा एलिस कार्की ढली सम्मानित भए । नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०७७ मार्फत शास्त्रीय सङ्गीतमा अमृतहरि तुलाधर योगी र नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार २०७७ मार्फत लोकसङ्गीत विधामा कृष्ण कँडेल सम्मानित भए ।