राष्ट्रपतिले बोलाइन् संसदको विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले २७ वैशाखमा बस्ने गरी विशेष अधिवेशन बोलाएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव ल्याउने सम्बन्धमा समेत विपक्षी दलहरु लागिरहेको समयमा विशेष अधिवेशन आह्वान भएको हो ।

प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३६ सांसदको समर्थन लिनुपर्छ । अहिले प्रतिनिधिसभामा २७५ सदस्य छन् । जसमा नेकपा एमालेसँग १२१ सिट रहेको छ । नेपाली कांग्रेससँग ६३, नेकपा माओवादी केन्द्रसँग ४९, जनता समाजवादी पार्टीसँग ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदसँग १, १ सिट छ ।