राष्ट्रपति आज बडिमालिका भ्रमणमा जाने

Photo Source : Gorakhapatra online

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सुदुरपश्चिमको चर्चित धार्मिक गन्तब्य बडिमालिकाको भ्रमणमा जाने भएकी छिन् । उनी बुधबार बिहान बाजुरा प्रस्थान गर्ने कार्यक्रम छ । सोही सिलसिलामा उनी मंगलबार नै सुर्खेत पुगेकी छिन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी मंगलबार सुर्खेत आएकी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी मंगलबार १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेको जानकारी दिएका छन् । उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेका छन् । बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी छिन् ।