राष्ट्रपति पौडेलद्वारा वसन्तपुर क्षेत्रका सम्पदाको अवलोकन

राष्ट्रपति पौडेल काठमाडौँ, १९ साउन : राष्ट्रपति रामचन्द्र पौडेल सोमबार काठमाडौँको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेका सम्पदाको अवलोकन गर्नुहुँदै।तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय/रासस

१९ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् । आज प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुग्नुभएका उहाँले हनुमानढोका दरबार सङ्ग्र्रहालयको पनि अवलोकन गरेका हुन् ।

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरे ।

सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरव, तलेजु मन्दिर, नौतले दरबार, नासल चोक, मूलचोक, त्रिशूलचोकलगायतका स्थानको अवलोकन गरे । सो क्रममा प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वज्राचार्य काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।