राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै

Photo : 24newsHD

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकै पटक अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्ने भएका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार यो कदमलाई चीनको बढ्दो प्रभाव न्यूनिकरणको पाइलाका रुपमा हेरिएको छ । राष्ट्रपतिबाट पहिलो पटक यस प्रकारको पहल हुन लागेको संचारमाध्यमले लेखेका छन् ।

वार्ता भर्चुअल विधिबाट शुक्रबार हुनेछ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा भत्किएका धेरै कुटनीतिक संरचनालाई बाइडेनले क्रमशः जोड्दै लगेका छन् । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार पत्रकारसँग कुरा गर्दै हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रका गठबन्धन एवं साझेदार मुलुकसँग निकट सहयोगलाई अमेरिकाले महत्त्व दिएको र त्यसै सन्दर्भमा राष्ट्रपतिबाट वार्ता हुन लागेको जानकारी दिएकी छिन् ।

यो समुहलाई “क्वीड” नाम दिइएको छ । इन्डो–प्यासिफिक क्षेत्र मुलुकमा व्यापार र सुरक्षा वार्ताको मूख्य प्राथमिकता हुने भएको छ । वार्तामा जलवायु परिवर्तन र कोभिड–१९ महामारीका मुद्दा समेत उठाइने भएको छ । भारतीय विदेश मन्त्रालयले समेत यो खबरको पुष्टी गरेको छ । सन् २००७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले नेतृत्व गरि क्वीड स्थापना गरेका थिए ।
एजेन्सी