न्यूयोर्क । तालिबानले अमेरिकाको न्यूयोर्कमा जारी राष्ट्रसङ्घीय महासभामा बोल्न पाउनु पर्ने माग गरेको छ । महासभामार्फत विश्वभरका नेतालाई सम्बोधन गर्न सकिन्छ । तालिबानका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार त्यस्तो अनुरोध सहितको पत्र संयुक्त राष्ट्रसङ्घमा पठाएको बीबीसीले लेखेको छ । अब संयुक्त राष्ट्र संघको एक समितिले त्यसबारे टुङ्गो लगाउनेछ। तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको समाचारमा उल्लेख छ ।
गतमहिना अफगानिस्तानलाई नियन्त्रणमा लिएको उक्त समूहले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ। उच्चस्तरीय त्यस्तो राष्ट्रसङ्घीय बहसमा सहभागी हुन गरिएको अनुरोधलाई उक्त निकायको क्रेडिन्सियल कमिटीले विचार गरिरहेको बताइएको छ। जसमा अमेरिका, चीन र रुस सहितका नौ देशहरू छन्।
तर उनीहरू आउँदो सोमवार महासभा अन्त्य हुनुअघि जुट्ने सम्भावना नरहेको बीबीसीले लेखेको छ । यतिखेर राष्ट्रसङ्घका लागि अफ्गान राजदूतमा गुलाम इसाकजाई कार्यरत छन् । राष्ट्रसङ्घको नियम अनुसार त्यसबेलासम्म उक्त विश्व निकायका लागि अफगान राजदूतमा गुलाम इसाकजाई नै कायम रहनेछन्। महासभाको अन्तिम दिन अर्थात २७ सेप्टेम्बरमा उनले मन्तव्य दिने ठानिएको छ।