काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । त्यसमध्ये चार जना खेलाडीमा कोरोनाबाट भाइरसको सङ्क्रमण पुष्टी भएको हो । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा छन् ।
नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । सोही प्रयोजनका लागि एन्फाले बिहीबारदेखि प्रशिक्षण थालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरू भएको प्रशिक्षणमा ३० खेलाडी मात्र उपस्थित छन् ।
नेपालले बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ मा खेल्नेछ । दोस्रो मैत्रीपूर्ण खेल २ मंसिरमा तय भएको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक नेपाली फुटबल टोलीले अन्तर्राष्ट्रिय सहभागिता जनाउन लागेको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी थालेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा छन् ।