रिजउड नेपाली समाजलाई ९ लाख अमेरिकी डलर अनुदान

न्यूयोर्क । रिजउड नेपाली समाज (आरएनएस)ले न्यूयोर्कको रिजउडस्थित नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको मर्मत तथा विस्तारका लागि ९ लाख अमेरिकी डलरबराबरको संयुक्त राज्य अमेरिकाको संघीय अनुदान प्राप्त गरेको औपचारिक घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिद्वारा हस्ताक्षरित आर्थिक वर्ष सन् २०२६ को संघीय बजेट प्याकेजअन्तर्गत सहयोग प्राप्त भएको हो । यो अनुदान यातायात, आवास तथा शहरी विकास विनियोजन प्रक्रियाअन्तर्गत सुरक्षित गरिएको हो । यस ऐतिहासिक उपलब्धि न्यूयोर्कबाट निर्वाचित अमेरिकी सिनेटर चक शुमरको नेतृत्व र पहल महत्वपूर्ण रहेको समाजले उल्लेख गरेको छ ।


नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्र सांस्कृतिक सम्पदा संरक्षण, भाषा तथा परम्पराको प्रवद्र्धन, युवा नेतृत्व विकास, ज्येष्ठ नागरिक सेवा, अन्तरपुस्ते संवाद तथा सामुदायिक सशक्तीकरणको प्रमुख केन्द्रका रुपमा स्थापित हुँदै आएको छ । प्रस्तावित मर्मत तथा विस्तार योजनाले केन्द्रको भौतिक क्षमता वृद्धि, पहुँच योग्यता र सुरक्षा सुधार गर्नुका साथै भावी पुस्ताका लागि नेपाली कला, संस्कृति र परम्पराको संरक्षण सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।


रिजउड नेपाली समाजका लागि ९ लाख अमेरिकी डलर संघीय अनुदान उपलब्ध गराउन पाउँदा गर्व महसुस भएको सिनेटर शुमरले बताएका छन् । उनका अनुसार यस्ता परियोजनाहरुले बढ्दो नेपाली–अमेरिकी समुदाय र नयाँ आप्रवासी नेपालीहरुका लागि अत्यावश्यक सेवाहरु उपलब्ध गराउनेछन् । ‘यो नेपाली समुदायहरुको पहिलो संघीय अनुदान हो, जसले क्विन्सस्थित नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको मर्मत तथा विस्तारमा महत्वपूर्ण योगदान पु¥याउनेछ’, सिनेटर शुमरले भनेका छन्– ‘यस्ता पहलहरुले न्यूयोर्कवासीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ । हाम्रो समुदायलाई अझ सुदृढ बनाउन र आवश्यक स्रोतसाधन उपलब्ध गराउन मेरो निरन्तर प्रयास रहनेछ ।’


रिजउड नेपाली समाजले सिनेटर शुमरप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । नेपाली–अमेरिकी समुदायको योगदानलाई संघीय तहमा मान्यता दिलाउन सिनेटर शुमरले निर्वाह गरेको भूमिकाको समाजले उच्च प्रशंसा गरेको छ ।
रिजउड नेपाली समाजका सरकार सम्बन्ध तथा अनुदान समितिका संयोजक अमित प्रताप शाहले यो संघीय अनुदान पूर्वाधार विकासको रकम मात्र नभई यो हाम्रो समुदायको पहिचान, साझेदारी र अवसरको मान्यता भएको बताएका छन् । ‘यो उपलब्धिले हाम्रो दीर्घकालीन सामूहिक प्रयासको परिणाम हो । नेपाली–अमेरिकी पहिचानको संरक्षण, सांस्कृतिक सम्पदाको जगेर्ना, एकीकरण सुदृढीकरण तथा संस्थागत विकास र सामुदायिक सशक्तीकरणका लागि आगामी दिनमा निरन्तर सहकार्यको अपेक्षा गर्दछौं,’ शाहले भने ।


यो संघीय अनुदान सामुदायिक तथा सांस्कृतिक केन्द्रको मर्मत तथा विस्तारका लागि मात्र रहेको समाजका अध्यक्ष राजेश भट्टले स्पष्ट पारेका छन् । ‘परियोजनामुखी अनुदान भएकाले भवन खरिद तथा विकाससँग सम्बन्धित करिब १० लाख अमेरिकी डलर बराबरको बाँकी ऋण दायित्व यसमा समेटिएको छैन’, उनले भनेका छन्– ‘त्यसैले हाम्रो संस्थाको दीर्घकालीन स्थायित्वका लागि समुदायको निरन्तर सहयोग अपरिहार्य छ ।’ समाजले यस अनुदानको जिम्मेवार रुपमा उपयोग गर्दै सांस्कृतिक गौरव, सम्पदा संरक्षण, सामाजिक एकीकरण, आर्थिक सशक्तीकरण तथा संस्थागत स्थायित्व प्रवद्र्धन गर्न दीर्घकालीन कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।