काठमाडौं । नेपालमा स्वदेशी चलचित्रले एकै दिन गरेको कमाईमा कबड्डी ४ ले यस अघिका सबै कीर्तिमान तोडेको छ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीले फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको बताएका छन् । शुबmबार मल्टिप्लेक्सका सबै शोमा शतप्रतिशत अकुपेन्सीमा फिल्म चलेको बताइएको छ । ‘कबड्डी ४’ले सबैभन्दा धेरै मल्टिप्लेक्स च्यानल रहेको क्यूएफएक्समा शुक्रबार १ सय ७ शो पाएको थियो । यो संख्या आइतबारसम्म बढ्ने देखिएको छ ।
फिल्मले पहिलो दिन नेपालभरबाट साढे तीन करोडको व्यापार गरेको आकलन निर्माण पक्षको रहेको छ । आइतबारसम्मका लागि सबै टिकट ‘सोल्डआउट’ भएका कारण समेत उनीहरु उत्साहित भएका हुन् । यो फिल्मलाई बिग मुभिजले १७ र एफक्युबले १७ वटा शो दिएका थिए । कीर्तिपुरमा समेत ६ वटा शो हाउसफुल बनेका छन् । फिल्ममा तीन करोड लगानी भएको बताइएको छ । पहिलो दिनमै लगानी उठेपछि निर्माण पक्ष हर्सित छ । रिलिजअगाडि नै फिल्मले डिजिटल राइट्स र ओभरसिज राइट्स (विदेश व्यापार) बाट समेत लगानी भए बराबरको रकम उठाइसकेको थियो ।
पहिलो सिरिज विदेशमा अत्यधिक प्रदर्शन भएकैले चौथो सिरिजले डायस्पोरामा राम्रो शो पाएको हो । युरोपभित्रका २० देशमा फिल्म पुगिसकेको हो । माल्टा, साइप्रस, इटाली, नर्वे, जर्मन, पोल्यान्ड, हल्यान्ड, स्विट्जरल्यान्डमा प्रदर्शनको घोषणा भएको निर्माण पक्षले जनाएको छ । न्युजिल्यान्ड, अस्ट्रेलियासँगै अमेरिकाका ६४ राज्यमा प्रदर्शन घोषणा भएको छ । यो संख्या पहिलाको तुलनामा अत्यधिक रूपमा बढेको गुरुङ बताउँछन् । भारतको सुष्मा प्रोडक्सनसँग पनि सम्झौता भइसकेको छ ।