रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कच्ची सडकमा जीप दुर्घटनामा परेको हो । रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरा भन्ने स्थानमा शुक्रबार साँझ जीप दुर्घटनामा परेको हो ।

यसअघि शुक्रबार नै बिहान गुल्मीमा जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको थियो । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटनामा परेको छ ।

त्यसक्रममा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन् ।
जीप चालक फरार छन् ।