बुटवल । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवकले कोरोना जित्न सफल भएका छन् । उनी मंगलबार बुटवलस्थित कोरोना अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका युवकमा कोरोना पुष्टी भएपछि वैशाख १९ मा अस्पताल भर्ना गरिएको थियो ।
१२ दिनसम्म आइसोलेसन अस्पतालमा बिताएका उनमा कोरानाको लक्षण भने नदेखिएको अस्पतालले जनाएको छ ।
शुक्रवार र सोमबार लगातार दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको छ ।
उनी वैशाख ५ मा भारतको मुम्बईबाट मर्चवारको ठोठरी नाका हुंदै नेपाल प्रवेश गरेका थिए ।
उनलाई सीमा क्षेत्रसम्म लिन गएका उनका दाजु र साथी लगायत उनीसंग सम्पर्कमा आएका अन्यको रिपोर्ट भने नेगेटिभ आएको हो ।
उनी अस्पतालमा एक्लै रहेका बेला एक्लै नाचेको भिडियो पनि भाइरल बनेको थियो । उनीसहित रुपन्देहीमा मंगलबारसम्म १६ जनामा कोरोना संक्रमित देखिएको छ ।
उनी निको भएपछि बुटवलको कोरोना अस्पतालमा भने अहिले कपिलवस्तुका समेत बिरामी गरी २७ जना भर्ना भइसकेका छन् ।