काठमाडौं । सर्वोच्च अदालतले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चारकर्मी रुपा सुनारलाई छलफलका लागि बोलाएको छ ।
बुधबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मन्त्री श्रेष्ठ र सुनारलाई छलफलका लागि बोलाएको हो । अदालतले असार २९ गते उक्त घटनाको प्रमाणसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
बबरमहलकी घरबेटी सरसवती महर्जनले जातीयताको कारण देखाउँदै आफूलाई कोठा भाडामा नदिएको भन्दै रुपाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
त्यस्तै मन्त्री श्रेष्ठले जातीय छुवाछुतको विषयमा जारी मुद्धा प्रभावित पार्दै सरस्वतीलाई छुटाउन जेलमा गएका थिए । त्यस्तै उनले सरस्वतीलाई झण्डावाला गाडीमा राखेर घरसम्म छोडेका थिए ।
रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर आइतबार रिट दिएकी थिइन् ।
उनको रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गरिएको थियो ।