रुसमा आम निर्वाचन, पुनः पुटिनकै पार्टीले जित्ने निश्चित

Photo source : Yuri Kadobnov—AFP/Getty Images\TM

मस्को । रुसमा आम निर्वाचन भएको छ । बीबीसीका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले रुसको संसदिय निर्वाचनमा बहुमत ल्याउने स्पष्ट संकेत देखिएको छ। तर, विपक्षीले भने व्यापक धाँधलीको आरोप लगाएका छन् । मतदानमा भोट हालेकाहरूसँग गरिएको एउटा एक्जिट पोलमा सत्ताधारी पार्टीको जित सुनिश्चित देखिएको हो। क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो ।

निर्वाचनका बेला नक्कली र जबरजस्ती मतदान भएका विवरणहरू सार्वजनिक भएका थिए । यता, रुसको निर्वाचन आयोगले भने त्यस्ता दाबीअस्वीकार गरेको छ। चुनावमा सहभागी हुन नपाएकामा हाल जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेत छन्। ३३ प्रतिसत मतगणना भएपछिको प्रारम्भिक नतिजामा युनाइटेड रसियाले ४५ प्रतिसतभन्दा बढ्ता मत पाएको देखिन्छ।

इन्सोमार कम्पनीले सञ्चालन गरेर र रिआ समाचार संस्थाले प्रकाशन गरेको अनुमानित मत सर्वेक्षण( एक्जिट पोलले उक्त दलले ४५ प्रतिसतभन्दा केही बढ्ता मत पाउने प्रक्षेपण गरेको छ। आइतवार साँझ मतदान सकिएको केही घण्टामै युनाइटेड रसियाले आफ्नो जित घोषणा गरेको छ।


सरकारी टेलिभिजनमा प्रशारित सामग्रीमा युनाइटेड रसिया पार्टीका एक वरिष्ठ अधिकारीले मस्कोमा समर्थकहरूको भिडलाई बधाई दिंदै स्पष्ट र निष्पक्ष जीत भएको बताएको समेत बीबीसीले लेखेको छ । मतदाताहरूले डुमा भनिने रूसी संसद्मा ४५० सांसद निर्वाचित हुनेछन् । कुल १४ वटा दल सहभागी भएको उक्त चुनावमा कयौँ शहरमा विद्युतिय मतदान सुरु गरिएको थियो। रुसको केन्द्रीय निर्वाचन आयोगले केही छिटफुट घटना भए तापनि ठूलो अनियमितता नभएको जनाएको छ।