काठमाडौं । रुसमा अर्धसैन्य बल वाग्नर समूहको विद्रोहले ल्याएको उथलपुथलपछि रुससँग लामो समयदेखि युद्ध गरिरहेको युक्रेनले यही मौकामा बलियो प्रत्याक्रमणको योजना बनाउनुपर्ने युक्रेनी सेनाका उच्च अधिकारीले बताएका छन् । रुस आन्तरिक मामिलामा अल्झिरहेका बेला त्यसको फाइदा उठाएर युक्रेनले प्रत्याक्रमण गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ‘दुश्मनतर्फ भएको कुनै पनि समस्या’ आफ्ना लागि अवसर भएको तर्क गर्छन् । उनले प्रत्याक्रमणका विषयमा छलफलका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग पनि फोनवार्ता गरेका छन् । युक्रेनका अवकाश प्राप्त लेफ्टिनेन्ट जनरल इहोर रोमानेन्कोले वाग्नर समूहको विद्रोहलाई अवसरका रूपमा लिएर विशेष प्रकारको रणनीति बनाउनुपर्नेमा जोड दिए । त्यसको एउटा कदम पश्चिम रुसमा आक्रमण हुन सक्ने उनको भनाइ छ । आफ्नो निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ को विद्रोहपछि रुस अहिले आफैं रक्षात्मक अवस्थामा आइपुगेको छ । एक दिनयताको घटनाले युक्रेनलाई भने आक्रमणको सही मौका दिएको रोमानेन्को भनाइ छ ।
यता, वाग्नर समूहका प्रमुख यभगेनी प्रिगोजिन रुसको दक्षिणी सहर रोस्तोभ–अन–डन छाडेर आफ्ना सेनासहित बेलारुसतर्फ लागेका छन् । युक्रेनविरुद्धको आक्रमणमा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दै आएको निजी अर्धसैनिक सेनाका प्रमुख प्रिगोजिन र उनका सैनिकमाथि रुसले लगाएका सबै आरोप हटाउने आश्वासन पाएपछि प्रिगोजिन बेलारुसतर्फ लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको मध्यस्थतामा शनिबारदेखि भएको छलफलमा वाग्नर समूह प्रमुख र उनका सेनामाथि लागेका सबै आरोप हटाउने रुसी पक्षले आश्वासन दिएपछि प्रिगोजिन बेलारुसतर्फ हिँडेका हुन् । यसबाहेक अन्य कुन–कुन विषयमा सहमति भएको हो भन्नेबारेमा भने अझै सार्वजनिक भइसकेको छैन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहमतिसँगै वार्ता टुंगोमा पुगेको थियो । योसँगै वाग्नर समूह पनि आफूले नियन्त्रणमा लिएको रुसको रोस्तोभ–अन–डन सहर छोडेर फर्किएको बीबीसीले उल्लेख गरेको छ ।
वाग्नर समूहले रुसका केही भूभाग नियन्त्रणमा लिन खोजेसँगै रुसले पनि राजधानी मस्कोको सुरक्षा व्यवस्था कडा पारेको थियो । मस्कोका मेयरले राजधानीवासीलाई जुलाई १ सम्म घरबाट बाहिर ननिस्कन निर्देशन दिएका छन् । रुसले युक्रेनमा आक्रमण गर्नका लागि सुरुदेखि नै बेलारुसको भूमि प्रयोग गर्दै आएको छ । राष्ट्रपति पुटिनका पूर्वसहयोगी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । वाग्नर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो । २०२२ मा पनि यस समूहमा ठूलो संख्यामा युवाहरू भर्ती भएका थिए ।
युक्रेनमाथि रुसले आक्रमण गरेयता डेढ वर्षदेखि रुसी सेना र वाग्नर फौज एकाकार थिए । तर, पछिल्ला केही सातामा दुई समूहबीच अविश्वास बढेको थियो, रुसी सेनाले आफ्नो शिविरमा मिसाइल हमला गरेको भन्दै उत्तेजित वाग्नर सेनाले रुसी सेनाको नेतृत्व नै अपदस्थ गर्ने गरी युद्ध घोषणा गरेको थियो । प्रिगोजिनको वाग्नर सेनाले रुसका तर्फबाट युक्रेनमा सबैभन्दा रक्तपातपूर्ण लडाइँ लडेको थियो । तर, रुसी सेनाका शीर्ष अधिकारीहरूसँग महिनौंदेखि यो फौजको विवाद बढेको थियो । विद्रोही फौजले रुसी सेनाको दक्षिणी मुख्यालय कब्जा गरेको र सहरमा नियमित गस्ती सुरु भएको दाबी गरेको छ । तर, यसका लागि एउटा पनि गोली चलाउन नपरेको प्रिगोजिनका कमान्डरहरूले बताएका छन् ।