मस्को । युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ। बीबीसीका अनुसार रुसी मानवअधिकार समूह ओभीडी(इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ। सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन्। इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानका टिकटहरूको तीव्र रूपमा बिक्री भएको छ। पुटिनले आंशिक रूपमा सेना परिचालनको आदेश दिएका छन्। उक्त आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकहरूलाई युक्रेनी युद्धभूमिमा हालै रुसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ। जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ।
रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रुसमा सामेल हुनेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरिएको भोलिपल्ट उक्त घोषणा गरिएको हो। युक्रेन र उसका साझेदारहरूले निन्दा गरेको टिप्पणीमा पुटिनले रुसी क्षेत्रको रक्षा गर्न सबै उपलब्ध साधनहरू आफूले प्रयोग गर्ने बताएका छन्। त्यसमा आणविक अस्त्र पनि समावेश हुन सक्नेछ। मस्को अभियोजनकर्ता कार्यालयले बुधवार अनधिकृत सडक आन्दोलनमा सामेल हुन इन्टरनेटमा आह्वान गर्ने वा त्यसमा सहभागी हुनेलाई १५ वर्षसम्म जेल सजाय हुनसक्ने चेतावनी दिएको छ।
उता, टर्कीको इस्तानबुल र आर्मेनियाको येरेभान जस्ता लोकप्रिय गन्तव्यमा उडानहरू घटाइएका छन् र बाँकी सिटहरूको मूल्य आकासिएको छ। पुटिनको घोषणापछि मस्कोबाट इस्तानबुल वा दुबईसम्मको उडानको इकोनोमी क्लासको भाडा एकतर्फी ९,११९ डलर पुगेको एसोसिएटेड प्रेसले जनाएको छ।
युक्रेनमा आक्रमण गरेकोमा रुसले न्यायिक सजायू भोग्नैपर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घीय महासभालाई बताएका छन्। पहिले नै रेकर्ड गरिएको भिडिओमा उनले एक विशेष वार ट्रिब्युनल गठनको आह्वान गरे र रुसद्वारा गरिएको भनिएका युद्ध अपराधको विस्तृत जानकारी दिए। उनले शान्तिका लागि युक्रेनलाई थप सैन्य सहयोग दिनुपर्ने र रुसलाई विश्व मञ्चमा दण्डित गर्नुपर्ने बताए।